नेतृत्वको किचलो: खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरु जुटे संयुक्त आन्दोलनमा

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद–कर्मचारी संघले बिहीबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को नेतृत्व विवादको कारण खेलकुदलाई ठप्प नबनाउन तथा खेलकुद, खेलाडी र खेलकर्मीको भविष्यमा खेलवाड गर्न नहुने मागसहित तीन खेलकुद संघले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र राखेप परिसरमा आयोजित आन्दोलनमा विभिन्न खेलका खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको उपस्थिति रहेको थियो । राखेपको सदस्य सचिव बर्खास्ती र नयाँ सदस्य सचिवको नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटको किनारा लगाउन सम्मानित अदालत समक्ष आग्रह गर्दै परिषद्को कामकारवाही नियमित सुचारु राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न शान्तिपूर्ण विरोधको कार्यक्रम गर्ने गरिएको संघले जनाएको छ । राखेपलाई अनिर्णयको बन्दी बनाएको र सरकारले पनि निकास नदिएकाले खेलकुद गतिविधि नै ठप्प भएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

सरकारले राखेपका तत्कालीन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो । यस्तै मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसयता राखेपको काम प्रभावित हुँदै आएको छ ।