तय भयो स्थानीय चुनावको मिति, कति लाग्ला खर्च ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेष्ठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका लागि मिति तोक्ने बताएका छन् ।

मंगलबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलका क्रममा आयोगले प्रस्ताव गरेको जेष्ठ ४ गते नै स्थानीय चुनाव सम्पन्न गर्नका लागि प्रक्रिया अघि बढाउने र मिति घोषणा गर्ने बताएका हुन् ।

छलफलमा आयोगले संविधान र कानून बमोजिम जेष्ठ ५ गते पछाडि स्थानीय तह रिक्त हुने भएकाले जेष्ठ ४ मै निर्वाचन गर्न प्रस्ताव गरेको र प्रधानमन्त्रीले सोही मितिमा निर्वाचन गर्न प्रक्रिया अघि बढाउने जानकारी दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले जेष्ठ चारमा निर्वाचन गर्नका लागि आयोग पूर्ण रुपमा तयार रहेको जानकारी दिए । प्रवक्ता पौडेलले ०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अबको निर्वाचनमा खर्च बढ्ने बताए ।

छलफलका क्रममा आयोगले प्रधानमन्त्री समक्ष ६ बुँदे प्रस्ताव पेश गरेको थियो । आयोगले संविधानले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल एक वर्षसम्म थप गर्नसक्ने व्यवस्था गरेपनि स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल थप गर्ने संवैधानिक र कानूनी प्रावधान नभएको भन्दै जनप्रतिनिधिको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्नुको कुनै विकल्प नभएको जनाएको छ ।