नेपाल प्रहरीले भन्सार छलेर ल्याएको करिब १ करोड ५० लाख बराबरको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
भन्सार छलेर ठूलो परिमाणमा महंगा मदिरा नेपाल भित्रिरहेको सूचनाका आधारमा प्रहरीले अप्रेसन लिमा सुरु गरेको थियो । सो क्रममा २९६ कार्टुन मदिरा सहित चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका शैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरे रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिए । उनले उक्त मदिराहरु विशेषत पार्टी प्यालेसमा बिक्री वितरण हुने गरेको पाइएको बताए ।
उनीहरुले बजार मूल्यभन्दा सस्तोमा मदिरा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले मदिराको गुणस्तर परिक्षणका लागि खाद्य तथा गुण नियन्त्रण विभागमा नमुना पठाएको छ ।