पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।
नेकपा निकट अखिल क्रान्तिकारीले बुधबार काठमाडौंको चावाहिलस्थित पशुपति क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
सो क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीलाई तितरबितर पारेको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असर जनताको दैनिक जीवनयापनमा परेको भन्दै तत्काल फिर्ता लिनुपर्ने बताएका थिए ।
उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिए । नेपाल आयल निगमले गत बुधबार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले वृद्धि गरेको थियो ।