सत्तारुढ दल निकटका विद्यार्थी संगठनले संयुक्त रुपमा काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगर नोबेल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी यूनियन, राष्ट्रिय जनमोर्चाको अखिल छैठौंसहित ८ विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई केएमसी र नोबेलविरुद्ध ठगी मुद्दा चलाउन माग गरेका हुन् ।
विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि यी दुई अस्पतालले एमबीबीएस, बीडीएस र बीएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन् ।
यसका अतिरिक्त तोकेभन्दा बढी शुल्क लिने, विद्यार्थीलाई अवैध करारनामा गर्न बाध्य पार्ने, नियम विपरीत छात्राबासलाई अनिवार्य बनाउने आदिजस्ता कार्य गर्दै आएका मेडिकल कलेजहरुलाई तत्काल ठगी मुद्दामा कारबाही अगाडि बढाउने माग पनि अघि सारिएको छ ।