के छ आजको कोरोना अपडेट ? रोकथामका लागि सरकारले धमाधम नयाँ नियम लागू गर्दै

नेपालमा शुक्रबार १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १८ हजार ६ सय १८ पिसिआर परिक्षणका क्रममा ८ हजार ८ सय १५ जना र ४ हजार ४ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ७ सय ६६ संक्रमित निको हुँदा हालसम्म ८ लाख १९ हजार ५ सय ७५ जना निको भएका छन् । हाल ६५ हजार ३ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ५४ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा शनिवारदेखि जोर बिजोरमा सवारी साधन संचालन हुने भएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि जोर बिजोर प्रणाली लागू गरेको हो । सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत यो नियम लागू हुने प्रशासनले जनाएको छ । यसअघिको आदेशमा सार्वजनिक यातायात संचालन गर्नेबारे मात्र उल्लेख थियो । अत्यावश्यक काम बाहेकका सवारीमा जोरबिजोर लागू हुने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । उनले जोरबिजोर प्रणालीको निरन्तर अनुगमन गरिने बताए ।

परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले सवारी चलाउन पाउने प्रशासन कार्यालयले जनाएको छ । पत्रकारको हकमा भने सूचना तथा प्रशारण विभागले जारी गरेको परिचयपत्र बाहकले जोर बिजोरमा आधारित नभइ सवारीसाधन चलाउन पाउने व्यवस्था गरिएको छ ।