जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सार्वजनिक स्थलमा मास्कको प्रयोगको अवस्थाका बारेमा बिहीबार पनि अनुगमन गरेको छ ।
प्रशासन कार्यालयको संयुक्त टोलीले कोटेश्वर, नयाँ बानेश्वर लगायत क्षेत्रमा मास्कको प्रयोगको अवस्थाका बारेमा अनुगमन गरेको हो । टोलीले सार्वजनिक यातायात, हाटेल, रेष्टुरेन्ट, पसल, सपिङ मल लगायत क्षेत्रमा अनुगमन गरेको थियो । सो क्रममा मास्कको प्रयोग नगर्ने ८ जनालाई जनही रु १ सय रुपैयाँ जरिवाना गरेको छ भने केहीलाई सम्झाइबुझाइ छाडेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । सार्वजनिक यातायातको अनुगमनका क्रममा सिट क्षमता भन्दा बढी यात्रु राखेको र स्यानिटाइजर तथा मास्क राखेको नपाइएकाले चालक र सहचालकलाई सम्झाइ बुझाइ गरेको उनले बताए । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेको प्रोटोकललाई कार्यान्वयन गराउन नियमित अनुगमन गरिने पौडेलले बताए ।
प्रशासनको संयुक्त अनुगमन टोलीमा प्रशासनका अनुगमन अधिकृत, प्रहरी लगायत रहेका छन् ।