पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा समेत घाटामा आयल निगम, कसरी चुक्ता गर्ला ऋण ?

सञ्चित मुनाफा सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको भन्दै नेपाल आयल निगमले विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यही महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था आएको उल्लेख गरिएको हो ।

‘सञ्चित मुनाफा शून्यमा पुगेका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एक (जनावरी १६ तारिख)मा निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ । हालसम्मको तेल खरिदको भूक्तानीका लागि निगमले सञ्चित मुनाफा, मूल्य स्थिरीकरण कोषमा पठाईने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई तिरिएको सहप्रवक्ता पुस्कार कार्कीले बताए ।

अब, मूल्य समायोजन गर्दै जाँदा पनि मासिक ४ अर्ब नोक्सानीमा निगम पुग्ने देखिएको र देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न करिब १२ अर्ब रुपैयाँ थप आवश्यक पर्ने निगमले जनाएको छ । हाल निगमलाई पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ ।