कारागारभित्रैबाट लागू औषधको डिल, १७ जना पक्राउ

प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागू औषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७ हजार एम्पुलसहित १७ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा सिन्धुलीका संग्राम मुक्तान, पञ्च स्याङ्तान, मोरङका सुरज सिंह ठकुरी लगायत रहेका छन् ।

सिन्धुली कारागारमा रहेका गुड्डु गुप्ताले सोही कारागारका टेलिफोन नाइके सन्तोष स्याङ्तानलाई आर्थिक प्रलोभनमा पारी कारागारभित्रैबाट शंकास्पद फोन गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरी लागू औषध गिरोहलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ । उनले भारतबाट लागूऔषध मगाउने र उनीसँगै कारागारमा रहेका अर्का व्यक्तिमार्फत् काठमाडौंमा ‘सप्लाई’ गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक हृदय थापाले जानकारी दिए । गुड्डु गुप्ताले बिक्रीबाट प्राप्त हुने पैसा निश्चित व्यक्ति तथा कारागारका कार्यालय सहयोगी रीता सारुमगर लगायतको नाममा पनि पठाउने गरेको खुलेको छ ।

पक्राउ परेका व्यक्तिहरुको सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।