नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर आफूलाई कप्तानबाट हटाउँदा दुःख लागेको बताएका छन् ।
टियू क्रिकेट मैदानमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले धेरै वर्ष क्रिकेटलाई दिएको र बिना कारण विभिन्न कुराहरु निकालेर आरोप लगाउनु दुखको विषय भएको बताए । क्यानलाई सदैव सम्मान गर्ने भन्दै उनले बोर्डको विरुद्धमा जाने, बोर्डलाई नीच बनाउने कहिले नगरेको जिकिर गरे । मल्लले आफू सधै कप्तान बन्न नआएको र देशको लागि र आफ्नो लागि खेल्ने बताए । उनले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि उल्लेख गरे । नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको भन्दै उनले टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको स्पष्ट पारे ।
असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि आसन्न ग्लोबल छनोटका लागि सबै खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन् । खुट्टाको चोटका कारण सागर ढकाल र हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछाने बाहेक सबै खेलाडी मंगलबारबाट प्रशिक्षणमा फर्किएका छन् ।
यसअघि क्यानले कारवाहीमा राख्दै कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दिपेन्द्र सिंह ऐरीलाई हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने निर्णय गरेको थियो । त्यसपछि उत्पन्न भएको विवादमा बारम्बारको छलफलपछि क्यान र खेलाडीले केही लचकता अपनाउँदा विवाद समाधान भएको छ ।