पाँच दलीय गठबन्धनको सरकारले राज्यको ढुकुटी रित्याएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएका छन् ।

नेपाल जनसांस्कृतिक महासंघको ३५औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकार बनेपछि मुलुकमा विकास योजना अवरुद्ध भएको बताएका हुन् । उनले बैंकहरु रित्तिएको र राज्यको ढुकुटीमा समस्या आएको भन्दै सम्रग मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएका हुन् ।

मुलुकमा एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको लहर ल्याएकाले नियोजित ढंगले आफूलाई सरकारबाट हटाइएको तर्क उनको छ ।

कार्यक्रममा ओलीले ६४ प्रतिशत मत भएको कम्युनिष्ट सरकार ढालेर विपक्षीको सरकार बनाउने माओवादीले समाजवादको कुरा गर्न नसुहाउने धारणा राखे । माओवादी महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन झुटको पुस्तक भएको उनको टिप्पणी छ । उनले गठबन्धनको साझा कार्यक्रमको कुनै अर्थ नभएको पनि बताए ।
आफूलाई वामपन्थी नभएर रामपन्थी भनेको प्रति ओलीले नेकपाबाट छुट्टिएका केही व्यक्तिले मार्क्सवाद नै नबुझेको उल्लेख गरे ।

उनले मुलुकमा देखिएको विविध समस्यालाई सांस्कृतिक चेतनाद्वारा उजागर गर्नुपर्ने बताए ।