दक्षिण अफ्रिकाको संसद भवनमा भीषण आगलागी, किन बजेन फायर अलार्म ?

Flames engulf a building at South Africa’s Parliament in Cape Town Sunday Jan. 2, 2022. (AP Photo/Jerome Delay)

दक्षिण अफ्रिकाको केपटाउनस्थित संसद् भवनमा आइतबार आगलागी भएको छ ।

संसद नचलेको समयमा आगलागी भएको र आगो नियन्त्रणमा लिएपछि घटनाको छानबिन सुरु गरिएको त्यहाँका राष्ट्रपतिले बताएका छन् ।

केपटाउन मेयर कमिटीका सदस्य जेपी स्मिथले आगलागीका कारण पुरानो एसेम्बली हलको छत खसेको र पुरानो चेम्बरमा पनि धेरै क्षति पुगेको बताएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी भएपनि अधिकारीहरुले भवनमा ठूलाठूला चिरा परेको देखिएको र यो चिन्ताको विषय रहेको बताएका छन् ।

सुरक्षाको पर्याप्त प्रबन्ध गरिएको संसद भवनमा आगलागी अघि नै बज्नुपर्ने फायर अलार्मले राम्रोसँग काम नगरेको बताइएको छ । कर्मचारीहरुका अनुसार अलार्म सिस्टम बज्नुभन्दा अगाडि नै आगो लागिसकेको थियो ।

अग्निनियन्त्रक, स्वयंसेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि छानबिन सुरु भएको छ । राष्ट्रपति रामापोसाले छानबिनका लागि सरोकारवाला उच्च अधिकारीहरूसहितको टोली परिचालन गरिसकिएको र दोषी पत्ता लगाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । संसद् भवनमा भएको आगलागीका बारेमा केही व्यक्तिमाथि प्रश्न उठेको र त्यसको उचित उत्तर खोजिने उनको भनाइ थियो ।

आगलागीको कारण भने अहिलेसम्म यकिन हुन सकेको छैन ।