नेपाल वायु सेवा निगम र नेपाल विद्युत प्राधिकरणबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निगम र प्राधिकरणबीच प्राधिकरणका सामान तथा यात्रु नेपाल एयरलाइन्स मार्फत् बोक्ने सम्झौता भएको हो । पर्यटनमन्त्री प्रेम आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कार्यकारी निर्देशक कुलमान घिसिङबीच सम्झौता गरिएको थियो । सम्झौतासँगै अब प्राधिकरणले कार्गोका लागि निगमको जहाज प्रयोग गर्नेछ ।
सम्झौता कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको संस्थालाई प्राधिकरणले गरेको सहयोगप्रति आधार व्यक्त गरे । कुलमानले प्राधिकरणलाई माथि उकास्न गरेको कामको प्रशंसा गर्दै उनले आफूले पनि सांसद हुँदा वन तस्करी रोक्न आवाज उठाएको स्मरण गरे । मन्त्री आलेले आफ्नो कारण नै वन जोगाउने काम भएको र कोप सम्मेलनमा प्रधानमन्त्री जाँदा नेपाललाई कार्वन सञ्चिती गर्नका लािग रोयल्टी प्राप्त भएको दाबी गरे ।
त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले यसअघि पनि निगमकै जहाज प्रयोग गर्दै आएकोमा यससम्बन्धी सम्झौता भएको भन्दै खुसी व्यक्त गरे । अब प्राधिकरणको कामका कर्मचारीहरुले पनि निगमकै जहाज प्रयोग गर्ने उनले बताए । उनले सम्झौतालाई तत्कालै कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमले अब सेवा र गुणस्तरमा सुधार गर्नुपर्ने बताए ।