कप्तान परिवर्तन गर्ने अधिकार क्यानसँग रहेको मुख्य प्रशिक्षक दशानायकेको दाबी

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान)सँग रहेको स्पष्ट पारेका छन् ।

मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताएका हुन् । उनले आफूले क्यान र खेलाडी दुबै पक्षसँग छलफल गरेको र क्यानले कप्तान परिवर्तन नगर्ने बताएको जानकारी दिए । क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । उनले आफ्नो ध्यान विश्वकप छनोटमा रहेको र छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने समेत बताए । दुई चरणमा क्याम्प आयोजना गर्ने उनको भनाइ छ । प्रशिक्षक पुबुदुले छनोट अघि केही सिरिजका लागि छलफल भएको समेत बताए । मुख्य प्रशिक्षक दशानायकेले आफू दोस्रो पटक नेपाल आउन पाउँदा खुशी लागेको बताए ।

नेपाली युवा खेलाडीमा प्रतिभा रहेको भन्दै मुख्य प्रशिक्षक दशानायकेले अरु एसोसिएट देशमा यस्तो नदेखिएको टिप्पणी गरे ।