महाधिवेशन अपडेट: के छ प्रस्तुत गरिएका दुई प्रतिवेदनमा ?

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा दुईवटा प्रतिवेदन पेश भएको छ ।

सोमबार बन्दसत्रमा प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ पेश गरेका थिए भने स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।

प्रचण्डको प्रतिवेदनमा पार्टीभित्र व्यक्तिगत पद प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै खराब काम गर्न पनि पछि नपर्ने प्रवृत्ति विकास हुँदै गएको उल्लेख गरिएको छ । समाजवादी क्रान्तिको विचारधारात्मक र राजनीतिक कार्यदिशा स्पष्ट भएपछि संगठन संघर्ष र आचरणको प्रश्न मुख्य भएर आउने पनि प्रतिवेदनमा उल्लेख छ । उनले यथास्थितिमा रहन खोज्ने शक्ति र समाजवाद उन्मुख आर्थिक राजनीतिक नीति लिँदै समाजवादीको बाटोमा हिँड्ने शक्तिबीचमा अन्तरविरोध अपरिहार्य रहेको हुने बताएका छन् ।

त्यस्तै समाजवादउन्मुख आर्थिक राजनीति लिन संविधानले सैद्धान्तिक राजनीतिक कानूनी आधार दिएको पनि प्रचण्डको प्रतिवेदनमा उल्लेख गरेको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। सर्वहारा वर्गप्रति निष्ठाकासाथ प्रस्तुत हुँदै शान्तिपूर्ण रुपमा क्रान्ति पूरा गर्नुपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख रहेको महराको भनाइ छ ।

त्यस्तै गुरुङले प्रस्तुत गरेको विधानको मस्यौदामा अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिमा १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ । दुई प्रतिवेदनमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएको छ भने बन्दसत्रमा मंगलबार समूहगत छलफल हुने र बुधबार समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको महराले जानकारी दिए ।

समूहको निष्कर्षपछि प्रतिवेदन पारित हुने र त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ । त्यसका लागि विष्णु पुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ ।

सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै त्सलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । सम्मेलनमा एक हजार ७ सयको हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।