सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्यूरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र एनआरटीले ३–३ गोलको बराबरी खेलेको हो । रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता एनआरटीले बनाएको थियो । खेलको ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा फर्काए ।
त्यस्तै खेलको ४८ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए । खेलको ६० औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी ३–१ ले अघि रह्यो । ६५ औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । त्यसपछि ६९ औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउँदै एपीएफलाई हारबाट जोगाए । यस बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ भने एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ ।