सेनाद्वारा यमनको राजधानीमा हवाई आक्रमण

साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हुथी मिलिसियाहरुका विरुद्धमा हवाई हमला गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको छ ।

यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी भएपनि हवाई आक्रमणपछि सहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।

सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् ।

इरान समर्थित हुथी मिलिसियाले पनि गत हप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुई वटा गुफा र चार वटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो ।

केही महिना अघि मात्र यमनी विद्रोही समूहले मध्य यमनको अत्याधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो ।