विद्यार्थीहरुद्वारा शिक्षकलाई गुरु दक्षिणास्वरुप पुस्तक अपर्ण

किसान माध्यामिक विद्यालय झेडेवा पाल्पामा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले आफ्नो गुरुआमा मिना कुमारी केसीलाई गुरु दक्षिणा स्वरुप ,‘मिना दिदी’ नामक पुस्तक अर्पण गरेका छन् । मिना केसीका विधार्थी तथा समकालीन शिक्षकहरुले उनीसँगका सम्झना लेखेर उक्त पुस्तक प्रकाशन गरेका हुन् ।

केसीका विधार्थी तथा समकालीन शिक्षक समेत रहेका उमानाथ पोखरेल ‘मिना दिदी’ पुस्तकका सम्पादक हुन् । ‘मिना दिदी’ले पढाउने समयमा गरेको संघर्ष र विद्यार्थी प्रति गर्ने व्यवहारले धेरै स्मरणीय रहेको बताउँदै आफूले पुस्तकको सम्पादन गरिरहँदा हरेक पूर्व विद्यार्थीहरुले लेखेका नयाँ नयाँ कुराहरुले आफूलाई उत्साहित बनाएको पोखरेलले बताए ।

केसीलाई स्मरण गर्दै सम्पादक उमानाथ पोखरेलले भने, उहाँ विद्यालयको पहिलो तालिम प्राप्त महिला शिक्षक हुनु हुन्थ्यो । उहाँकै कारण धेरैले आफ्ना छोरीलाई विद्यालय पठाएका थिए । जिल्लाकै एक नमुना हुनुहुन्थ्यो मिना दिदी ।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक तुलाबहादुर सारु आफूले पढेकै विद्यालयका प्रधानाध्यापक छन् । उनले आफैलाई पढाउने गुरुआमाको बारेमा पुस्तक लेखेर उहाँलाई नै अर्पण गर्न पाउँदा अत्यन्तै हर्षित भएको सुनाए ।