नेपालमा पहिलो पटक ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि, दक्षिण अफ्रिकाबाट आएका थिए दुवै संक्रमित

नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी गराएको हो । दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमूना संकलन गरी परीक्षण गर्दा उनीहरुमा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएको हो । हालसम्म गम्भीर लक्षण नदेखिएका उनीहरुलाई आइसोलेसनमा राखी उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको समेत कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।