प्रदेश नं २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट नियुक्त भएका दुई मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिकरुपमा कार्यभार सम्हालेका छन् ।
प्रदेश प्रमुख हरिशङ्कर मिश्राले नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
एकीकृत समाजवादीसँग मन्त्रालय र मन्त्रीको टुङ्गो नलाग्दा प्रक्रिया लम्बिएको थियो । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनका लागि मुख्यमन्त्री राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए ।
केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा(एकीकृत समाजवादी)लाई सहभागी गराइएको हो । प्रदेशसभामा नेकपा(एकीकृत समाजवादी)का १३ सदस्य रहेका छन् ।