गैरआवासीय नेपाली संघ(एनआरएनए) निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संघले नयाँ कार्यसमिति चयनका लागि यही महिनाको १५ तारिखमा निर्वाचन गरिने जनाएको हो ।
त्यस्तै, संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन निर्वाचनपश्चात् डिसेम्बर १९ र २० मा हुने बताइएको छ ।
अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा संघले प्रस्तुत गरेको मार्गचित्रमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले दिएको सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा लेखिएनुसार महाधिवेशन प्रतिनिधिहरुको सूची भने निर्वाचन समितिलाई शुक्रबार नै बुझाइने छ ।
गत अक्टोबरमा हुनुपर्ने संघको अन्तर्राष्ट्रिय महाधिवेशन परराष्ट्र मन्त्रालयको निर्देशनअनुरुप स्थगित भएको थियो । प्रतिनिधिबीच नै आन्तरिक विवाद चुलिएपछि मन्त्रालयले निर्वाचन रोक्न भन्दै संघलाई पत्राचार गरेको थियो ।