प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा बार एसोसिएसनका अध्यक्ष सहित केही घाइते भएका छन् ।
प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानून व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा उनीहरु घाइते भएका हुन् । बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे लगायत घाइते भएको बारले जनाएको छ ।
यसैबीच सर्वाेच्चमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै प्रधानन्यायाधीशको राजीनामा नभएसम्म आन्दोलन चर्काउने जनाएको छ । बार परिसरमा भएको विरोध सभामा बारका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले न्यायपालिकाको स्वतन्त्रताका लागि भएको आन्दोलनमा दंगा प्रहरी तैनाथ गरेको र हस्तक्षेप गरेको भन्दै विरोध जनाए । आफूहरुमाथि भएको दमनको निन्दा गर्दै थप सशक्त कार्यक्रम तय गर्ने उनले बताए ।
त्यस्तै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश अस्ताउँदो घाम भएको भन्दै कसैको दमनले आफूहरुको आन्दोलन नरोकिने जिकिर गरे । उनले आफूहरुको अन्तिम लडाई बाँकी नै रहेको बताए । वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायालयको शुद्धीकरणका लागि थालेको शान्तिपूर्ण आन्दोलनमा गृह र सर्वोच्च प्रशासनले दमन गरेको बताए । उनले आफूहरुलाई दमन गर्न खोजेपनि आन्दोलन नरोकिने उल्लेख गरे ।
न्यायालयमा भ्रष्टचार मौलाएको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।