जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा नेपाल बन्द कार्यमा संलग्न छ जनासहित देशका विभिन्न स्थानबाट ८६ जनालाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका हुन् ।
नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वसाधारणको दैनिक जीवनमा केही कठिनाइ भएको देखिएको हो । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको देखिएको छ । भाडाका ठूला सवारी साधन कम सङ्ख्यामा चले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन ।
उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । अहिले यातायातका सवारी साधन समान्यरूपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको देख्न सकिन्छ ।