अमेरिकामा नेपाली कला संस्कृतिको प्रवर्द्धनमा सक्रिय संस्था गोर्खाली समाज मेरिल्याण्डले तिहारको अवसरमा देउसी भैलो शुभ दिपावली सांझ २०७८ आयोजना गर्ने भएको छ । कार्यक्रम यही अक्टोबर ३१ गतेका दिन अमेरिकास्थित फिलाडेल्फियामा आयोजना हुने भएको हो ।
यसअघि तीज विशेष कार्यक्रम भव्यताका साथ सफल पारेको समाजले अक्टुबर ३१ का दिन ख्याति प्राप्त कलाकारको प्रस्तुति सहित देउसी भैलो खेल्न लागेको हो । उक्त कार्यक्रममा वरिष्ठ लोक गायक, सर्जक तथा निर्देशक नारायण रायमाझी साथै वरिष्ठ लोक गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने लगायत शान्ति भण्डारी, भगवान भण्डारी, कल्पना देवकोटा, कमल खनाल, लक्ष्मण पौडेल, उदय भट्टराई, अमृत रामदाम, राजु ढुंगेल, गंगा लामिछाने, सिम मर्सांगी मगर, बिराज रामदाम, सुजन रामदाम, स्वरुपा रसाइली र प्रकाश बञ्जाराको उपस्थिति रहने बताइएको छ ।
“संसारको जुनसुकै कुनामा रहे पनि हामी नेपाली हौं त्यसैले नेपाली संस्कृतिको संरक्षणलाई हामीले आफ्नो कर्तव्य ठानेका छौं । देउसी भैलो कार्यक्रम त्यसैको निरन्तरता हो, समाजका अध्यक्ष गणेश लामीछानेले भने ।
टिभी सन्डे, नेप्लिज डायस्पोरा र खुलामञ्चले कार्यक्रम प्रत्यक्ष प्रसारणसमेत गर्नेछन् ।