दुबईमा अलपत्र परेका सात नेपालीको उद्धार

फाइल तस्वीर

वैदेशिक रोजगारीका लागि दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवाको उद्धार गरिएको छ । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको नेतृत्वमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो ।

उद्धार हुनेमा हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मी रहेका छन् ।

एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि उनीहरु केही समयअघि मात्र दुबई पुगेका थिए ।

दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन् । नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काएका हुन् ।