असौज ५ काठमाण्डौ
सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नियुक्त गरेका १० सहित १२ देशका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
राजनीतिक नियुक्ति पाएका सबै राजदुतलाई फिताए बोलाउने निर्णय भए बमोजिम १२ वटा देशका राजदुतलाई फिर्ता बोलाउन लागिएको कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै अमेरिकाका डा. युवराज खतिवडा, चीनका महेन्द्रबहादुर पाण्डे, बेलायतका लोकदर्शन रेग्मी, मलेसियाका उदयराज पाण्डे, जापानकी प्रतिभा राणा, भारतका लागि नीलाम्बर आचार्य, बंगलादेशका वंशीधर मिश्र, ओमानकी शर्मिला पराजुली, इजरायलका अन्जान शाक्य, कतारका नारद भारद्वाज, स्पेनकी आङफुटि शेर्पा र दक्षिण अफ्रिका निर्मलकुमार बिक फिर्ता हुने भएका छन् ।
जापानका लागि नेपाली राजदूत राणा र ओमानकी राजदूत पराजुली २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नै नियुक्त भएका थिए । नाताले राणा प्रधानमन्त्री देउवाकी सासु पर्ने हुन ।