एमसिसी उपाध्यक्ष काठमाडौंमा, राजनीतिक भेटघाटमा व्यस्त

काठमाडौैं, २४ भदौ

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली राजनीतिक भेटघाटमा व्यस्त रहेको छ ।  चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन् । नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । एमाले टोलीमा स्थायी कमिटी सदस्य विष्णु रिमाल र राजन भट्टराई पनि सहभागी थिए । उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँग आफ्नै निवास बालकोटमा शिष्टाचार भेट गर्दै ओलीले सत्तामा हुँदा आफूले अघि बढाउन खोज्दा विभिन्न व्यक्तिबाट अवरोध भएको र अहिले प्रतिपक्षीमा भएकाले आफ्नो हातमा नभएको स्पष्ट पारे ।

भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईका अनुसार ओलीले सत्ताको पोजिसन क्लियर नभएसम्म अहिले एमसीसीमा धारणा नबनाउने जवाफ दिएका थिए ।

‘एमसीसीको विवादका विषयमा उहाँहरु (फातिमा)ले आफ्नो धारणा सुनाउनुभयो । यहाँको अवस्थालाई हेरेर धेरै कुरा स्पष्ट पारेका छौं । लामो समयसम्म नगोसिएसन भएर टुंगिएको विषय हो । अहिले जुन विवाद आयो यो नहुनु पर्थ्यो जस्तो लाग्छ भन्नुभयो,’ भट्टराईले भने, ‘ओलीले आफूहरु सत्तामा रहँदा एउटा जिम्मेवार सरकारको नाताले अघिल्लो सरकार (देउवा) ले गरेको सम्झौता भए पनि दुइटा मुलुकबिच भएका सम्झौता निरन्तरता हुनुपर्छ भन्ने हिसाबले पार्टीभित्रै कतिपय रिजर्भेसन हुँदाहुँदै पनि अगाडि बढाउने कोसिस गरेका हौं । हामीले संसदमा टेबल गरिसकेका छौं । सभामुख लगायत केही व्यक्तिको भूमिकाको कारणले अघि बढ्न सकेन भन्नुभयो ।’ अध्यक्ष ओलीले अहिले आफूहरु प्रतिपक्षमा रहेको भन्दै एमसीसी पास हुने/नहुने सत्तारुढ गठबन्धनमा निर्भर रहेको बताएका थिए ।

यसैबीच उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् ।