नेकपा (एस)मा पाँच सदस्यीय स्थायी कमिटी गठन, गौतमलाई राखिएन, अन्तरिम महासचिवको जिम्मेवारी भुसाललाई

काठमाडौं, २० भदौ

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीमा नेकपा एमाले परित्याग गरेका वामदेव गौतम अटाउन नसकेको देखिएको छ । नेकपा एमालेबाट विभाजित भएको नेकपा (एस)ले नेपाल नेतृत्वमा पाँच सदस्यीय स्थायी कमिटी बनाउँदा गत शुक्रबार नेकपा एमाले परित्याग गरेका गौतम अटाउन नसकेका हुन् ।

नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मार्फत अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको जानकरी गराएका छन् । तर, नेकपा एसमा प्रवेश गर्न लागेका गौतमलाई भने अन्तरपार्टी निर्देशनमा स्थायी कमिटीमा राखिएको छैन ।

केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी भने गंगालाल तुलाधारले पाएका छन् । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले तत्कालीन एमालेमा स्थायी कमिटी सदस्य  बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ । नेकपा (एस) गठनपछि पहिलोपटक जारी भएको अन्तरपार्टी निर्देशनमा दिइएको जिम्मेवारीमा उल्लेख भएअनुसार हाल पाँचजनाको स्थायी कमिटी गठन गरिएको छ भने सचिवालय प्रमुखको जिम्मेवारी भुसालले पाएका छन् ।

बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ । 

पार्टीको विधानमा महासचिवले सचिवालय प्रमुखको हैसियतमा काम गर्ने उल्लेख छ । तर, राष्ट्रिय भेलाअघि पदाधिकारीले पूर्णता नपाउने भएपछि हाललाई अन्तरिम सचिवालय र स्थायी कमिटी गठन गरिएको नेकपा(एस)ले जनाएको छ ।

Source: न्युज कारखाना