बाढी र बर्षालेअमेरिकामा १९ महिने छोरा सहित ३ जना नेपालीको मृत्यु, निधन प्रति विभिन्न संघ संस्थाद्धरा दुख व्यक्त

सुनिता शर्मा कोइराला,
न्यूयोर्क, अमेरिका 

अमेरिकाको न्यूयोर्कमा आएको बाढि र बर्षाका कारण १९ महिने छोरा सहित नेपाली एकै परिवारका तिन जनाको मृत्यु भएको छ ।

बर्षा र बाढीका कारण नेपालको सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी स्थायी घर भई हाल न्युयोर्कमा बसोबास गर्दै आउनु भएको आङ गेलु लामा उहाँकी श्रीमती मिङमार शेर्पा र उहाँहरुको १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।

उँहाहरुको निधन प्रति युनाईटेड शेर्पा एसोसियसन अमेरिकाले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना सहित शोकाकुल परिवार जनमा समवेदना प्रकट गरेको छ । एसोसियसनले उहाँहरु बसेको अपार्टमेन्टमै बाढी र बर्षातले सपरिवारको असामयिक निधन भएको खबरले मर्माहत बनाएको उल्लेख गरेको छ ।

यसैगरी गैरआवासीय नेपाली संघ, अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृण्ण जीबी पन्थले पनि आफ्नो सामाजिक सञ्जाल मार्फत एकै परिवारका तिन जनाको निधनले आफु र संघलाई मर्माहत बनाएको लेख्नुभएको छ ।

उँहाले पनि मृत आत्माको चिरशान्तिको कामना सहित शोकाकुल परिवार जनमा समवेदना प्रकट गर्नुभएको छ । यसैगरी पन्तले यस कठीन परिस्थितिमा पिडीत परिवारको सहयोगको लागि गैरआवासीय नेपाली संघ, अमेरिकासँगै रहेको जानकारी गराउनु भएको छ । न्यूयोर्क सहित विभिन्न राज्यमा अहिले आएको बाढी र वर्षका कारण असहज परिस्थीती रहेको भन्दै यस कठिन परिस्थितिमा सुरक्षित रहन अनुरोध सहीत एक अर्कामा सहयोगी भावना देखाउन समेत उँहाले सबैलाई अपिल समेत गर्नुभएको छ ।

यसैगरी गैर आवासिय नेपाल संघ न्यूयोर्क च्याप्टरले पनि सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेको छ । च्याप्टर न्यूयोर्क परिवारको तर्फबाट आङ छिरिङ शेर्पाले मृतकको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएकोछ ।

यसैगरी विभिन्न संघ संस्था र समुदायका अगुवाहरुले शेर्पा परिवारको मृत्यु प्रति दुख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत आफ्ना कुराहरु लेखिरहेका छन्

पछिल्लो समय अमेरिकाको न्यूयोर्क, न्यू जर्सी, लुजियाना लगायतका राज्यमा भारी बर्षा,आधीबेरी तथा बाढीका कारण धेरै धन जनको क्षति भएको छ । कयौं परिवार त्यसबाट प्रभावित भएका छन् । यस प्राकृतिक विपत्तिले अमेरिकन नेपाली परिवारहरुलाई पनि प्रभावित पारेको छ ।
अहिलेसम्म ५९ जनाको  मृत्यु भईसकेको छ भने धेरैको हताहती भएको विभिन्न सञ्चार माध्ययमहरुले समाचार लेखेका छन् । अमेरिककाको हरेक राज्यमा नेपालीहरुको बसोवास रहेको छ । अमेरिकन सरकार र स्थानीय सरकारहरुले सबैलाई सुरक्षित रहन र आवश्यक परे सहयोगको अपिल गर्न समेत अनुरोध गर्दै आएका छन् ।