रमादेवी पाठक पत्रकारिता पुरस्कार पत्रकार जीवराम भण्डारीलाई

काठमाण्डौ, १० भदौ

हेम–सरिता फाउण्डेशनले प्रदान गर्ने टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार २०७७ पत्रकार जीवराम भण्डारीलाई प्रदान गर्ने भएको छ । पछिल्लो समय टेलिभिजन पत्रकारीतामा समसामयिक विषयमा अन्तर्वाताकारका रुपमा रुचाईएका पत्रकार भण्डारीले आफ्नो पत्रकारीताको यात्रामा तीन दशक पुरा गरिसकेका छन् । सुशासन एवं भ्रष्टाचारबिरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई हरेक वर्ष प्रदान गरिने टंक प्रसाद रमादेवी पाठक पुरस्कारद्वारा सम्मानित गरिदै आएको छ ।

एकदशक अघि स्थापित यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायतका पत्रकारहरु सम्मानित भइसकेका छन् । यस पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ ।

यस बर्ष तीर्थ कोइरालाको संयोजनमा बरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौटसमिति गठन गरिएको थियो । अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेका हुन् । टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारकोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिती सामान्य हुनासाथ पुन शुरु गरिने फाउण्डेसनले जनाएको छ। नेपालमा सामाजिक कार्यमा केन्द्रीत रहेको फाउण्डेशनले काठमाडौंको घुमारचोक स्थित उग्रतारा माध्यमिक विद्यालयको १२ कोठाको भवन निर्माण र छात्रवृत्ति प्रदानमा समेत सहयोग गरेको छ ।
यसैगरी फाण्डेशनले देशका विभिन्न स्थानका विपन्न, गरिब र असहाय, अशक्तहरुलाई सहयोग प्रदान गर्दै आएको छ ।