भारतले पाकिस्तानमाथि मिसाइल र हवाई आक्रमण जारी राखेपछि त्यसको बदला स्वरुप पाकिस्तानले पनि भारतका विभिन्न शहरहरुमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले बिहीबार भारतका ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ ।
यसमा जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसै गरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि पाकिस्तानी ड्रोनको निसानामा परेका छन् ।
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तर भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ । पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ। राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गर्न लगाइएको छ।
पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कतामा छन्। पञ्जाबको जालन्धर र अमृतसरमा पूर्ण रूपमा अन्धकार छ भने बीकानेर र श्रीगंगानगरमा पनि पूर्ण रूपमा अन्धकार छ।
भारतले पहलगाममा २२ अप्रिलमा २६ पर्यटकको ज्यान जाने गरि भएको आक्रमणको जवाफी कारबाही स्वरूप बुधबार बिहान पाकिस्तानमाथि आक्रमण सुरू गरेको हो । ‘अपरेसन सिन्दूर’ नाम दिएर भारतले पाकिस्तानमाथि बुधबार आक्रमण सुरु गरेको थियो । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ ।
आईपीएल खेल रद्द
पाकिस्तानले गरेको आक्रमणको बिचमा धर्मशालाको एचपीसीए मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बिचको खेल रोकिएको छ। मैदानका सबै फ्लडलाइटहरू निभाइएर सबै फ्यानहरूलाई मैदान खाली गर्न लगाइएको थियो ।
खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित रहेका थिए । प्रियांश आर्य भने ७० रन बनाएर आउट भएका थिए ।
भारतले बन्द गर्यो २७ विमानस्थल
पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको छ । भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो ।
पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ हमला गरेको थियो । सो हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो । पाकिस्तानबीच तनाव बढेपछि सुरक्षा परिस्थितिको कारण देखाउँदै भारतको जम्मुसहित अरु २७ विमानस्थलहरु १० मे बिहान साढे पाँच बजेसम्मका लागि बन्द गरिएको हो ।
बन्द गरिएका विमानस्थलहरूको सूची यसप्रकार छ–
जम्मु, धर्मशाला, हिन्दन, ग्वालियर, किसनगढ, श्रीनगर, अमृतसर, पटियाला, सिमला, गग्गल, जैसलमेर, जोधपुर, बिकानेर, हलवारा, पठानकोट, लेह, लुधियाना, भुन्तर, भटिण्डा, मुन्द्रा जामनगर, राजकोट, पोबन्दर, कांडला, केशोद, भुज र चण्डीगढ ।