११ वित्तीय संस्था नेपाल राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ — चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियमविपरीत काम गर्ने ११ वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गरेको छ । यस वर्षको माघ, फागुन र चैत (तेस्रो त्रैमास) सम्म पाँच वाणिज्य बैंक, तीन विकास बैंक र तीन वित्त कम्पनी राष्ट्र बैंकको कारबाहीमा परेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । उक्त अवधिमा आफ्नो निर्देशनविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकलाई कारबाही गरेको हो ।

कारबाहीमा परेका बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र केही कर्जाको जोखिम भार गणना गर्दा नियम पालना नगरेको राष्ट्र बैंकले जनाएको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाको पूर्ण पालना नगरेकाले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको पनि राष्ट्र बैंकले बताएको छ ।

कुमारी बैंकलाई निर्देशनबमोजिम निष्क्रिय कर्जा वर्गीकरण नगरेको र न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो । लक्ष्मी सनराइज बैंकले नियमअनुसार निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको र न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेकाले उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।