शेखर–गगन समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक आज बुधबार बस्दैछ। आजको बैठक दिउँसो १ बजे बस्ने भएको छ । समूहका नेता डाक्टर शेखर कोइरालाले आफ्नो समूहको बैठक हिजोको लागि बोलाउनुभएको थियो तर, बैठकमा महामन्त्री गगनकुमार थापा नजाने भएपछि बैठक आजका लागि सारिएको सहमति भएको थियो ।

शेखर र गगनबीच मंगलबार अर्जुननरसिंह केसीको घरमा संवाद भएर दुवैको सहमतीमा बैठक आजका लागि तय गरिएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बस्ने छ । बैठकमा नेता अर्जुनरसिंह केसीले दुई बीचमा तिक्तता र असहमति जसरी भएपनि अहिले बाहिर आउन नहुनेमा जोड दिएका थिए।

केसीकै घरमा बसेको बैठकमा मिलेर अघि बढ्ने सहमति भएको थियो। आजको बैठकमा शुक्रबार बस्ने कांग्रेस केन्द्रीय सम्पादनको बैठकमा कसरी प्रस्तुत हुने लगायत बारेमा छलफल गरिने जनाइएको छ। कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सार्ने तयारी गरेको छ।

त्यसका लागि रणनीति बनाउन बैठक बोलाइएको इतर पक्षको दाबी रहेको छ। नीति महाधिवेशनको रूपमा हेरिएको महासमिति बैठकमा पार्टी नेतृत्व र सरकारको तीव्र आलोचना हुने सम्भावना देखिएपछि सभापति शेरबहादुर देउवा तेस्रो पटक बैठक सार्ने मनस्थितिमा पुगेका छन्।

आसन्न राष्ट्रियसभा निर्वाचनलाई कारण देखाएर देउवाले पुस १६ देखि १९ सम्मका लागि तय गरिएको महासमिति बैठकलाई फागुनमा पु¥याउन खोजेको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन्।

यद्यपि आजको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा इतर पक्षको भागबण्डाका बारेमा पनि छलफल हुनेछ। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। सत्ता गठबन्धनले भागबण्डा गरेर चुनाव लड्ने तयारी गर्दा इतर पक्षले आफ्नो दाबेदारी राख्ने जनाइएको छ।