हमास युद्धमा इजरायली मन्त्रीका छोरा मारिए

काठमाडौं। इजरायल र हमास बिच गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायली मन्त्रीका छोराको ज्यान गएको छ। पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले जनाएको छ।

उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ)ले जनाएको छ। विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुःख व्यक्त गर्दै इसेनकोट ‘साँच्चिकैको हिरो’ भएको बताएका छन्। विस्फोटमा अर्का एक सैनिकको पनि ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

गत अक्टोबर ७मा इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्ध शुरु भएलगत्तै पूर्वसैन्य प्रमुख गाडी इसेनकोट प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारमा सहभागी भएका थिए। इजरायल र हमासबीच २ महिनादेखि भइरहेको युद्धमा परेर १६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ।