काठमाडौं। कक्षा १ मा पढ्ने ९ वर्षीय बालिकालाई मरणासन्न हुनेगरी कुट्ने शिक्षक पक्राउ परेका छन्। पश्चिम नवलपरासीको सरावल ७ बर्गदवामा रहेको बर्दघाट कालिका बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादवलाई प्रहरीले पक्राउ गरेको हो।
विद्यालयका सहायक प्रिन्सिपलसमेत रहेका यादवलाई बुधवार उनकै घरबाट नियन्त्रणमा लिइ मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ।सोमबार कक्षा एकमा अध्ययनरत ९ वर्षीय कञ्चना राजभरलाई घरमै गएर विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले आफ्नै मोटरसाइकलमा बसाएर विद्यालय ल्याई पाइपले कोठा थुनेर कुटपिट गरेको अभिभावकले आरोप लगाएका छन्।
यादवले प्लास्टिकको पाइपले पिठ्युँ, टाउको, हातमा निर्घात कुटपिट गरेको अभिभावकले जनाएका छन्। कुटपिटबाट बालिकाको शरिरमा पूरै रातो र निलो डाम बसेको छ । घटनापछि सो विद्यालयमा वडाअध्यक्ष हायात खाँ धुनियाँसहित स्थानीयको टोलीले मंगलबार नै तालाबन्दी गरेपछि प्रहरीलाई थप दवाव परेको थियो।
अभिभावकको जाहेरीको आधारमा उनलाई प्रहरीले बालबालिका सम्बन्धि कसुरमा मुद्दा दायर गरी अनुसन्धान सुरु गरेको हो।बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार यादवलाई बालबालिका सम्बन्धी कसुरमा कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद र ५० हजार जरिवानाको व्यवस्था रहेको छ ।