काठमाडौं। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सुटुक्क आफ्नो ८० प्रतिशत सेयर बेचेर बाहिरिएको छ। केहिदिन अघी एनसेलको मुख्य सञ्चालक आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत शेयर सुटुक्क स्पेकट्रलाइट युके लिमिटेडलाई बिक्री गरेर नेपालबाट बाहिरिएको हो। आजियाटाले एक विज्ञप्ति नै जारी गर्दै ६ अर्ब ६६ करोड शेयर बिक्री गरेर नेपालबाट बाहिरिएको बताएको हो।
शेयर बेच्नु र किन्नु कुनै नौलो कुरा होइन तर,यहाँ अचम्म र शंका मान्नुपर्ने विषय केछ भने सन् २०१६ मा १ खर्ब ४३ अर्बमा खरिद गरेको एनसेलको शेयर आजियाटाले आजिएटाले कुल ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको छ। यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्तान गर्नुपर्ने र सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने शेयर खरिद सम्झौतामा उल्लेख गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
७ वर्षअघि एक खर्ब ४३ अर्बमा खरिद बिक्री भएको कम्पनी ६ अर्बमा बिक्री हुनुमा धेरैले शंकास्पद रहेको भन्दै प्रतिक्रिया जनाएका छन्। साथै एनसेलको सम्बन्धमा अदालतमा परेको रिटको अन्तिम किनारा नलाग्दै एनसेल बिक्री भएको छ। गत शुक्रबार नै नेपाल दूरसञ्चार प्राधिकरणले पाँच प्रतिशतभन्दा बढी शेयर खरीद बिक्री गर्न आफ्नो स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था औंल्याउँदै एनसेलको शेयर खरीद बिक्रीसम्वन्धमा जारी विज्ञप्ति र आएका समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको थियो।
‘दूरसञ्चार नियमावली,२०५४ को नियम १५(ट)बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६को विनियम ४(क)बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’,प्राधिकरणले काटेको पत्रमा उल्लेख छ।
देवबहादुर रोकायाले पाटन उच्च अदालतमा उत्प्रेषण र परमादेश लगायतका आदेश माग गर्दै मंसिर १४ गते कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल दूर सञ्चार प्राधिकरण, धितोपत्र बोर्ड, एनसेल, सञ्चार मन्त्रालय र एजियाटा कम्पनी विरुद्धमा रिट निवेदन दायर गरेका थिए। सोही निवेदनका आधारमा अदालतले दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो। तर, अदालतले बोलाएको छलफललाई बेवास्ता गर्दै आजियाटाले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गरेको छ ।
विगतमा एनसेलको शेयर कारोबार विदेशी भूमिबाटै गरिँदा लाभकर छली गरेको विषयमा आजियाटाले नेपाल देखि अन्तर्राष्ट्रिय अदालतबाट समेत हार व्यहोरेको थियो । फेरि पनि सोही विषय दोहोरिएको अवस्थामा सरकारले सो विषयलाईकसरी अगाडि बढाउँछ र अदालतमा कसरी टुंगोमा पुग्छ भन्ने विषय पुनः हेर्न बाँकी छ ।स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतिशलाल आचार्य छन् । आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । अब एनसेलमा आचार्य समूहकै शतप्रतिशत शेयर स्वामित्व कायम हुने भएको छ ।