इजरायल–हमासबीच युद्धविराम सकिएपछि फेरी आक्रमण, गाजामा ३२ जनाको ज्यान गयो

काठमाडौं। इजरायल–हमासबीचको युद्धविराम सकिएपछि शुरु भएको आक्रमणमा ३२ जनाको ज्यान गएको छ। इजरायली सेनाले आक्रमण शुरु गरेको तीन घण्टामा ३२ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता पिटर लेर्नरले हमासले आफ्नो वचन पूरा नगरेका कारण अब हमासलाई अन्त्य गरेर बाँकी बन्धक फिर्ता ल्याउन युद्ध शुरु गरेको बताउनुभएको बीबीसीले जनाएको छ।

हमासद्वारा सञ्चालित आन्तरिक मामिला मन्त्रालयले इजरायली हवाई आक्रमणबाट धेरै क्षेत्र प्रभावित भएको जनाएको छ। युद्धविरामले गाजामा बन्दी बनाइएका एक सय जनाभन्दा बढी रिहा हुन सफल भएका छन्।

अझै झण्डै एक सय ४० जना बन्धक रिहा हुन बाँकी छन्। युद्ध पुनः शुरु भएसँगै गाजामा अत्यावश्यक सामग्रीको अभावकाबीच मानवीय सङ्कट शुरु हुने सम्भावना छ ।

युद्धविराम अवधिको अन्तिम समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई रिहा गर्न सहमत नभएर युद्धविरामको सर्तहरूको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । युद्धविरामलाई थप गर्नेबारे वार्ता जारी नै रहेको बेला पुनः हिंसात्मक युद्ध शुरु भएको हो ।