टिकटकलाई दूरसञ्चारको जवाफ–‘सरकारको निर्णय हो उतै कुरा गर’

काठमाडौं। नेपालमा टिकटक बन्द भएपछी टिकटक कम्पनीले पठाएको ध्यानाकर्षण पत्रको नेपाल दूरसञ्चार प्राधिकरणले जवाफ पठाएको छ। प्राधिकरणले सिङ्गापुरमा रहेको टिकटक कम्पनीलाई पत्रको जवाफ पठाएर टिकटक बन्द गर्ने निर्णय सरकारले गरेकोले सरकारसँगै कुरा गर्न भनेको छ।

यसअघि नेपालबाट टिकटक बन्द गर्ने निर्णय भएसँगै दूरसञ्चार प्राधिकरणलाई टिकटकले पत्र लेखेको थियो। त्यसपछि दूरसञ्चार प्राधिकरणले पत्र पठाएर सरकारको निर्णय अनुसार टिकटकलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको छ।

पत्रमा दूरसञ्चार प्राधिकरणसँग भन्दा पनि नेपाल सरकारसँग नै यस विषयमा कुराकानी गर्न टिकटकलाई आग्रह गरिएको छ। सरकारको निर्णय कार्यान्वयनका लागि सहयोग गर्न टिकटकलाई आग्रह गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

गएको कात्तिक २७ गते सरकारले नेपालबाट टिकटक बन्द गर्ने निर्णय गरेको थियो। यसबारे सामाजिक सञ्जालमा यसका पक्ष र विपक्षमा विभिन्न तर्क भइरहेका छन्। टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। यो रिटमाथि पर्सि सोमवार सुनुवाइ हुने भएको छ।