नेपालले टिकटक बन्द गरेपछी कम्पनीको आपत्ती, पठायो यस्तो पत्र…

काठमाडौं। नेपालमा सरकारले टिकटक प्रयोगमा प्रतिबन्ध लगाएपछि टिकटक कम्पनीले आपत्ति जनाएको छ। टिकटकले आफ्ना असहमतिहरू व्यक्त गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र नै पठाएको छ। नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे स्मरण गराउँदै टिकटकले सरकारले प्रतिबन्ध लगाएकै दिन गत सोमवार प्राधिकरणलाई पत्र पठाएको पाइएको छ।

पत्रमा टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विचार र अभिव्यक्तिको स्वतन्त्रको विरुद्धमा रहेको टिकटकले टिप्पणी गरेको छ। टिकटकको दक्षिण एशियाका लागि सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने प्रमुख फर्डोस मोटाकिनले पर्याप्त आधार बिना नै सरकारले अनुचित रुपमा टिकटक बन्द गरेको उल्लेख गरेका छन्। पत्रमा टिकटकले नेपाल सरकारका हरेक चासोहरूलाई सम्बोधन गर्न आफूहरू तयार रहेको पनि उल्लेख गरेको छ। टिकटक बन्द गर्ने निर्णयले आफूहरू आश्चर्यमा परेको पत्रमा उल्लेख छ। 

यता नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकको पत्र आएको पुष्टि गरे। उनले कार्यालय विदा भइसकेपछि पत्र आएको र अब कार्यालय खुलेपछि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई जानकारी गराउने बताएका छन्। सरकारले गत सोमवार “सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको“ भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

त्यसलगत्तै प्राधिकरणले नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार अहिले नेपालमा टिकटकमा प्रतिबन्ध लगाएइको छ। यद्यपी विभिन्न विकल्पको माध्यमबाट केहीले टिकटक चलाइरहेका छन् ।