लुम्बिनीको विश्वव्यापी प्रचारसँगै पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

काठमाडौं।भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार–प्रसारसँगै पर्यटन प्रवर्द्धन गर्न सरोकारवाला पक्षहरुविच सहकार्य गर्ने समझदारी भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा शनिबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा लुम्बिनीको विकासमा बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)एवं सरोकारवाला संस्थाहरूबीच सहकार्य गर्न सहमति भएको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिका,रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, कोष एवं एनआरएनसहित सरोकारवालाको उपस्थितिमा प्रत्यक्ष तथा भर्चुअल उक्त बैठक एवं अन्तरक्रियामा बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार र बुद्ध परिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि चार पालिका, लुम्बिनी विकास कोषसँगै बेलायत, अमेरिका, युरोपलगायतका विदेशमा भएका गैरआवासीय नेपालीहरूको संस्थाहरूबीच निरन्तर सहकार्य गरेर अगाडि बढ्ने गरी समझदारी पनि बनेको छ।

बैठकबाट बुद्धपरिपथको अन्र्तराष्ट्रियस्तरमा प्रचारसँगै पर्यटन प्रवर्द्धन, विकास र सहयोग आदान–प्रदान गर्न अन्तर्राष्ट्रियस्तरको समन्वय र सहजीकरण गर्न युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपाली समाज टेक्सास युएसए, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, इन्द्रेणी सांस्कृतिक सङ्घ टेक्सास, लुम्बिनी सेवा समाज टेक्सासलगायतका संस्थाका पदाधिकारीलाई अनुरोध गर्ने सहमति भएको छ।

अन्तरक्रियामा कसले के भने ?
लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेका अनुसार अन्तरक्रियामा भर्चुअल माध्यमबाट सहभागी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपमहासचिव सोमनाथ सापकोटाले लुम्बिनी, बुद्धको प्रचार–प्रसार र बुद्धपरिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि सहकार्यको वातावरण बनाउन आग्रह गरे।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले स्थानीय पालिकासँगको सहकार्यमा आगामी दिनमा कोषले एनआरएनहरूसँग सहकार्य गरेर बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धका मार्गदर्शन र सन्देश विश्वमाझ प्रचार–प्रसार गर्ने नीति लिएको र अब सबैको सहकार्यले नै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिने बताए।

बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, देवदह, कपिलवस्तु र लुम्बिनी सांस्कृतिक नगरपालिकाहरूले समेत आफ्नो क्षेत्रका ऐतहासिक र पुरातात्विकस्थलमा उत्खनन र संरक्षणमा बजेट छुट्याएर काम गर्नुपर्ने कोषाध्यक्ष भट्टराईले बताए। बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रूपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार–प्रसारको खाँचो रहेको बताए।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले लुम्बिनीसँगै बुद्ध जीवनसँग जोडिएका रामग्राम, देवदह, कपिलवस्तुको विकास हुनुपर्नेमा जोड दिए। उनीहरूले अन्तर्राष्ट्रिय गैरआवासीय नेपालीहरूको विभिन्न संस्थासँगको सहकार्य र समन्वयले बुद्धस्थलको प्रचारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोविन्दप्रसाद ज्ञवाली, एएनए अमेरिकाका सल्लाहकार प्रभात दीक्षितलगायतले लुम्बिनीसँग सम्बन्धित भ्रमहरू चिर्दै पर्यटकको बसाइअवधि लम्ब्याउनुपर्ने बताए।