काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएन)को राजेन्द्रकुमार(आरके)शर्मा समुह राहत सामाग्री लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको छ। अध्यक्ष शर्मा नेतृत्वको टोली आइतबार राहत सामाग्रीसहित आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम प्रस्थान गरेको हो।
शनिबार मात्रै १० करोडको विपद कोष बनाउने घोषणा गरेको यो समुहले आवश्यक पर्ने त्रिपाल, कम्बल,म्याटसहित जाजरकोट र रुकुम प्रस्थान गरेको हो। उक्त कोषमा एनआरएनका पदाधिकारी तथा अभियन्ताहरुले विपद उद्दार कोषमा सहयोग गर्ने रकम पनि घोषणा गरेका थिए।
जसमा अध्यक्ष शर्माले २१ लाख,महासचिव सुवेदीले १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख,निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५,उपाध्यक्ष खगेन्द्र न्यौपाने सहित विभिन्न व्यक्तिहरुले रकम सहयोग गर्ने घोषणा गरेका थिए।
एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्दार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए। सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारको नियम अनुसार नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माले बताए।
राहत बितरणका लागी अध्यक्ष शर्मा,निबर्तमान अध्यक्ष रविना थापा,निवर्तमान उपाध्यक्ष नरेन्द्र भाट,उपाध्यक्ष राज रेग्मी,गंगाधर गौतम,महासचिव बुद्दीसागर सुवेदी,सचिव लोक दाहाल,युरोप संयोजक चिन्तामनि सापकोटा,युरोप महिला संयोजक गीता खनाल थापा, एनआरएनए अभियन्ता नारायण थापा,शनि कुमार ओली,बन्दना शर्मा,ओम शर्मालगाएतका नेतृत्वहरु जाजरकोट र रुकुम हिडेका छन।
अध्यक्ष शर्माका अनुसार भूकम्प पीडित २००० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको हो। संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा वितरण गर्ने महासचिव सुवेदीले बताए ।जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन।
संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषदहरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेको छ।