काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णय स्वागतयोग्य रहेको बताएका छन्। महामन्त्री थापाले गुण्डा नाइके रिगललाई दिएको आममाफीको विषयलाई लिएर सर्वोच्चले गरेको निर्णयको स्वागत गरेका हुन्।
सामाजिक सञ्जालमार्फत थापाले योगराज ढकाल भनिने रिगललाई आममाफी दिने सरकारको निर्णय अदालतले बदर गर्नु स्वागतयोग्य भएको बताएका हुन्।
मुद्दाको अन्तिम किनारा र पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको उनले बताए। साथै महामन्त्री थापाले आममाफीसँग सम्बन्धित कानुनलाई एकीकृत गर्न र कानुनी छिद्रहरू टाल्न आग्रह गरे।
उनले भने,’अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ।’
आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु नहुने उनको भनाइ छ ।
’यस सम्बन्धमा जे–जसरी आम माफी दिने गरिएको छ त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ। यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ’ उनले भने।