सर्वाेच्चले उल्टायो राष्ट्रपतिकै निर्णय, गुण्डा नाइके रिगललाई पुनः पक्राउ गर्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको निर्णय पनि उल्टाइदिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बाँकेका गुण्डा नाइके रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहलाई सर्वोच्च अदालतले बदर गरिदिएको हो।

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा कैद मिनाहा गरिदिनुभएको थियो । सरकारको सिफारिस र राष्ट्रपतिको स्वीकृतिविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दिनुभएको थियो ।

रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरीत भएको ठहर गर्दै बदर गरिदिएको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकूल देखिएको’ भनेको छ ।

सर्वोच्चले रिगललाई तत्कालै पक्राउ गरेर थुनामा पठाउन उत्प्रेषणको आदेश पनि दिएको छ।रिगलले २०७२ असार २८ गते नेपालगञ्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए।

खुँडाले हानेर मान्छेको हत्या गर्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै चेतनी पत्नी भारतीले कसुरदारलाई पुनः कैद गरी पाउँ भनी रिट दायर गर्नुभएको थियो। सरकार र राष्ट्रपतिको निर्णयको चौतर्फी आलोचना पनि भएको थियो ।

यसबारेमा प्रष्टीकरण दिँदै राष्ट्रपति पौडेलले सरकारले गरेको सिफारिस सदर गर्नुपर्ने संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्नुभएको थियो । सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा अल्प सूचनाको आधारमा समाचार प्रकाशन र प्रसारण नगर्न सञ्चारमाध्यमलाई निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।