काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन)को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके)शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको छ। बद्री केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गर्दै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको हो। यो समिति नै आधिकारिक भएको बताइएको छ ।
कार्यसमितिमा डा.केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्ता र गणेश केसी उपाध्यक्ष रहेका छन्। त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन्। त्यस्तै,सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा,राम पोखरेल र केपी सिटौला छन्।
कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे,मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् । यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन्।
शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए। विवादकैबिच शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि हुने उनीहरूको आरोप छ। पत्रकार सम्मेलनमा शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए।
उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए। उनले गैर आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए। त्यस्तै महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाएका थिए।