काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनमा भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणामअनुसार अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन्। काठमाडौं सोल्टी होटलमा बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै केसीले जित हात पारेका हुन्।
निर्वाचन समितिका अनुसार केसी १३७८ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पराजित भए। शर्माले १२८१, श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन्। डा. केसी निवर्तमान तीन अध्यक्षमध्ये कार्यकारी अधिकारयुक्त व्यक्ति हुन भने शर्मा र श्रेष्ठ उपाध्यक्ष थिए।
यस्तै मतपरिणाम अनुसार उपाध्यक्षमा अस्ट्रेलियाबाट डा. विनोद श्रेष्ठ (१५६०), यूकेबाट डा. हेमराज शर्मा (२२६५), मलेसियाबाट खगेन्द्र न्यौपाने (१३५७), कतारबाट राजु रेग्मी ‘राज’(१९००), यूकेबाट रामशरण सिमखडा (१५५२) र जापानबाट रोविन शेरचन (२१८०) विजयी भएका छन्।
यूकेबाट रोजिना प्रधान राईले १९४७ भोट ल्याएर महिला उपाध्यक्ष जित्दा उनकी प्रतिद्वन्द्वी साउदी अरवियाबाट वेगम सैयद १९१४ मतमा रोकिइन्। युवा उपाध्यक्षमा रोसन थापा २४६८ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी अब्दुल बासिदले १३२२ मत प्राप्त गरे।
संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरे। उपमहासचिवमा २१५० मत ल्याएर प्रवीन गुरुङ कतारबाट र १७९० मत ल्याएर सोमनाथ सापकोटा यूकेबाट निर्वाचित भएका छन् ।
१५ जनाको उम्मेदवारी परेको सचिव पदमा निर्वाचित भएका ६ जना सचिवमा १६७३ मत ल्याएर भीम केसी ‘कमल’,१७८२ मत ल्याएर डा.ज्ञानेन्द्र रेग्मी, २०२४ मत ल्याएर मनोजकुमार श्रेष्ठ, १८५३ मत ल्याएर डा. नवराज रोस्यारा, १६५१ मत ल्याएर पारमणि पोखरेल र १६६६ मत ल्याएर स्वतन्त्रप्रताप शाह निर्वाचित भएका छन्।
महिला सचिवमा राधिका गुरुङ‘टीका’ले २३२० मत ल्याएर विजयी हुँदा विमला सापकोटा १५३९ मतमा रोकिइन्। कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानालाई हराउँदै सुदनकुमार थापा निर्वाचित भए। सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५),अभिमन्यू बस्नेत २०८१) र तिलकप्रसाद गैरे (२२३२) मत ल्याएर विजयी भए।
अमृता थापा २२८७ मत ल्याएर महिला सहकोषाध्यक्षमा विजयी भइन्। उनकी प्रतिस्पर्धी तृष्णा शर्माले १५२२ मतमात्र ल्याइन्। अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरिन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतका साथ विजयी भए।