दुबई । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उमेदवार आर.के (राजेन्द्र कुमार) शर्मा चुनावी प्रचार प्रसार अभियानका लागि अहिले मध्यपूर्वको युएई (दुबई) पुगेका छन् ।
आफ्नो पक्षमा समर्थन जुटाउन शर्मा आफ्नो कर्मभूमि मध्यपूर्वको दुबई आईपुगेका हुन् । दुबईका गैरआवासीय नेपालीहरुले उनको भव्य स्वागत गरेका थिए । यसअघि उनी युरोपका विभिन्न देश र त्यहाँ स्थित गैर आवासीय नेपालीहरुले आयोजना गरेका विभिन्न छलफल, भेटघाट र अन्तक्र्रिया कार्यक्रममा सहभागी भएर फिर्ता भएका थिए ।
कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा दुबई पुगेका हुन् ।
दुबईमा प्रवासी नेपालीहरुका समस्या, गुनासो र सल्लाह सुझाव आदान प्रदान गर्ने कार्यक्रम राखिएको छ । एनआरएनए एनसीसी युएईको आयोजनामा छलफल तथा अन्तक्र्रिया कार्यक्रम हुन लागेको हो ।
दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही, निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्यासी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गरेका थिए ।
विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले यो केही महिना भित्र ४० वटा देशको भ्रमण गरिसकेका छन् ।
अध्यक्षका प्रत्यासी शर्माले यसअघि बहराईन, चेक रिपब्लिक, डेनमार्क, जर्मनी हँुदै पोर्चुगल, स्पेन, माल्टा , ईटाली र फ्रान्सका प्रतिनिधिहरु (डेलिगेट्स) सँग छलफल भेटघाट गरेका थिए । शर्माले नेपालीको संख्या धेरै भएका देशमा ६ महिनाभित्रै नेपाली दूतावास स्थापना गर्न सक्दो सहयोग गर्ने बताए । पोर्चुगल, माल्टा लगायतका देशमा ६ महिनासम्म नेपाली दूतावास खोल्न आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले देश छाड्ने रहर कसैलाई नहुने भन्दै चिन्ता लिएर विदेशिएका नेपालीहरुले समृद्ध नेपाल देख्न चाहेको बताए ।
उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उठ्ने तयारी गरेपछि नेपालीहरु रहेका अधिकांश क्षेत्रमा पुगेर उनले अन्तक्र्रिया र छलफल कार्यक्रम गरे । प्रवासी नेपालीहरुका समस्या र त्यहाँका सम्भावनालाई उनले नजिकबाट नियाले ।
शर्माले विभिन्न देशमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना २४ महिने कार्यकालमा गर्न सकिने २४ योजना तथा कार्यक्रमहरू सार्वजनिक गरे । अध्यक्ष पद मात्रै प्राप्त गर्ने आफ्नो अभिलाषा नभई योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य सहित आफू संघको नेतृत्व गर्ने अभियानमा लागेको शर्माले बताएका छन् ।
८० भन्दा बढी देशमा फैलिसकेको गैरआवासीय नेपाली संघको यो पटकको चुनावमा प्राविधिक कारणले ५८ देशका प्रतिनिधिले मात्रै भोट हाल्न पाउने भएका छन् । जसमा शर्मालाई अधिकांश सबै क्षेत्रका प्रतिनिधिहरुले साथ दिने र सहयोग गर्ने बताएका छन् ।