नेपाली क्रिकेट टोलीले बनायो विभिन्न ७ किर्तिमानी, यी हुन् आज हासिल गरेका किर्तिमानीहरु…

काठमाडौं । एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले मंगोलियमाथि विश्व किर्तीमानसहितको जित निकालेको छ। नेपालले आजको खेलमा विभिन्न ७ किर्तिमानी आफ्नो पक्षमा पारेको छ ।

आज नेपालले सर्वाधिक फराकिलो जित, सर्वाधिक ठूलो योगफल, सर्वाधिक छिटो शतक, सर्वाधिक छिटो अर्धशतक,तेस्रो नम्बरमा सर्वाधिक रन, चौथो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी, सर्वाधिक छक्का गरि ७ वटा किर्तिमानी आफ्नो पक्षमा पारेको हो ।

आज समुह ‘ए’ को पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित ग¥यो । टि ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा रनको आधारमा यो अहिलेसम्मकै फराकिलो जित हो ।

आज टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो । नेपालका लागि कुशल मल्लले अविजित १ सय ३७ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ६१ रन तथा दिपेन्द्र सिंह ऐरीले अविजित ५२ रन बनाए ।

नेपालले बनाएको ३ सय १४ रन टि–ट्वेन्टी अन्तराष्ट्रियकै विश्व किर्तीमान हो । टि–ट्वेन्टीमा अहिलेसम्म कुनैपनि देशले ३ सय रन पार गर्न सकेका छैनन् । यसैगरि कुशलले बनाएको ३४ बलको शतक पनि टि–ट्वेन्टीतर्फको विश्व किर्तीमान हो ।

९ बलमा अर्धशतक प्रहार गरेका दिपेन्द्र सिंह ऐरीले पनि सर्वाधिक कम बलमा अर्धशतक बनाउने किर्तीमान राखेका छन् । यसअघि उक्त किर्तीमान भारतका युवराज सिंहको नाममा १० बलको थियो । दिपेन्द्रले लगातार ६ छक्का प्रहार गरेका थिए ।

जवाफमा ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियाले १३ ओभर १ बलमा अलआउट हुनुपूर्व ४१ रन मात्रै जोड्न सक्यो । मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अविनाश कोहोरा र सन्दिप लामिछानेले २–२ विकेट लिए ।

समुहको दोस्रो खेलमा नेपालले अक्टोबर १ तारिखमा माल्दिभ्सको सामना गर्नेछ । क्रिकेटतर्फ भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सिधै वाटरफाइनलमा राखिएको छ ।