काठमाडौं। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बागमती प्रदेशसभा सांसद कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतक पदबाट राजीनामा दिएका छन्। आज बिहान संसदीय दलका नेता बहदुर सिंह लामालाई उनले राजीनामा पत्र बुझाएका हुन्।
सांसद काफ्लेले सचेतक पदबाट राजीनामा दिएको सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताए।
पदबाट राजीनामा दिएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरूको सेवामा व्यतीत गर्ने बताए।
तत्कालीन सत्ता गठबन्धन करिब २ महिना चल्दा काफ्लेलाई प्रमुख प्रतिपक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोकिएको थियो। गत फागुनमा सत्ता गठबन्धन परिवर्तनसंगै कांग्रेस सत्ता पक्ष बन्यो।
कांग्रेस सत्तामा आएसँगै उनको प्रमुख सचेतक पद र सेवा सुविधा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद रत्न प्रसाद ढकालले पाएका थिए। ढकाल प्रमुख सचेतक बनेपछि उनी सचेतकको जिम्मेवारीमा रहनु परेको थियो।