एनआरएनले ५७ करोड ६६ लाख खर्च गरेर निर्माण गरेको लाप्राकको ५७३ घर स्थानीयलाई हस्तान्तरण

NRN logo

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विस २०७२ को भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको वस्ती लाप्राकका बासिन्दाका लागि गैरआवासीय नेपालीद्धारा निर्माण गरेको गुम्सीपाखामा निर्मित नमुना बस्ती बिहीबार हस्तान्तरण गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, माननीय हरिराज अधिकारीलगायतको समुपस्थितिमा ५७३ वटा आवास र अन्य सामुदायिक पूर्वाधार हस्तान्तरण गरिएको एनआरएनएनका अध्यक्ष कुमार पन्तले बताए । अध्यक्ष पन्तले अन्ततः यो दिन आयो भन्दै बस्ती हस्तान्तरण् गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘यस परियोजनामा हरेक गैरआवासीय नेपालीको तन, मन र धन परेको छ । उहाँहरूसहित सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद’, अध्यक्ष पन्तले भने ।

बिहिबार एक कार्यक्रमका वीच लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउँपालिकाका लाभग्राहीहरुलाई हस्तान्तरण गरियो  भने कार्यक्रममा  दाताहरुको नाम भएको शिलापत्रको पनि  अनावरण गरिएको छ । २०७३ साल बैशाख १२ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ वीच त्रिपक्षिय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो ।

विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँंपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमूना वस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट संघ तथा सहयोग गर्ने सम्पूर्ण गैरआवासीय नेपाली तथा संघ संस्थाहरुप्रति आभार व्यक्त गरे । उनले पूर्वधार बिकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने वताए ।

संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ती निर्माण गरि हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै निर्माण गर्न भन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको औंल्याए । उनले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गरे । यसै गरि उनले प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले, संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट र सल्लाहकार जमुना गुरुङलाई बिषेश धन्यवाद व्यक्त गरे  ।

NRN President Kumar Pant

NRNA PRESIDENT KUMAR PANT

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७,६६,०४,८३६।४९ रुपिंयाको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, संघसंस्थाहरु लगायत नेपाल सरकार, स्थानीय सरकार, सम्पूर्ण दाता एवं अन्य रुपमा सहयोग गर्ने सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे  । तीन नम्बर गणका गणपति सहायक रथी, कुमार बाबु थापाले नेपाली सेना यस पुनर्निमाण कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वित भएको वताउँंदै नेपाली सेनाले राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराए  ।

कार्यक्रममा धार्चे गाउंपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले धन्यवाद मन्तब्य दिनुका साथै सहभागीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । जग्गा धनी पूर्जासहित नमूना बस्तीका घरहरु हस्तान्तरण गरेकोमा उनले नेपाल सरकार र गैरअवासीय नेपाली संघलाई हार्दिक धन्यवाद प्रकट गरे  । उक्त कार्यक्रममा सांसद  हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरु, उपाध्यक्ष सोनाम लामा, बद्री केसी र रवीना थापा, सचिव गौरीराज जोशी, युवा संयोजक हिमाल गुरुङ, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अमेरिकाजका क्षेत्रीय उपसंयोज रामचन्द्र पोखरेल, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिना, आइसिसि सदस्य चिन्तामणि सापकोटालगायत विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरु, स्थानीय जनप्रतिनिधिहरु, लाभग्राहीहरु लगायत स्थानीय जनताहरुको सहभागिता रहेको थियो ।