एनआरएनए नेतृत्वका लागि सर्वसम्मतिको पहल सुरु, यस्ता छन् पहलका बाटाहरु…

काठमाडौँ।गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को आगामी नेतृत्वका लागि सम्भावित समीकरणका बारेमा काठमाडौँमा पहल सुरु भएको छ।महाधिवेशनको मिति नजिकिएसँगै अध्यक्ष लगायतका पदका आकाङ्क्षीहरू बीच छलफल भइरहेको छ। अध्यक्षका आकांक्षीबीच साझा उम्मेदवारका बारेमा विभिन्न चरणमा वार्ता भइरहेको छ।

अध्यक्ष पदका लागि महेश श्रेष्ठ,डा केशव पौडेल,आरके शर्मा,डा.बद्री केसी,रविना थापालगायतले उम्मेदवारी दिने बताउँदै आएका छन्।यीमध्ये महेश,डा केशव र आरकेमध्ये एकजना मात्र उम्मेदवार बनाउन प्रयास भइरहेको छ।विभिन्न देशमा सञ्जाल रहेको एनआरएनए करिब १ लाख सदस्य छन्।

केहीसाता अघि वर्तमान अध्यक्ष डा.बद्री केसीले डा.केशवलाई अनौपचारिक रूपमा मिलेर जाने प्रस्ताव राखेका थिए। महेश, डा केशव र आरके नेपालको सत्ता गठबन्धन पार्टीसँग निकट भएकाले पार्टीहरूलाई समेत विश्वासमा लिई एक जना उम्मेदवार बन्ने गरी छलफल भइरहेको बुझिएको छ। अध्यक्षसँगै महासचिवमा सोहीअनुसार समीकरण बनाउने गरी छलफल भइरहेको छ ।

अध्यक्षमा महेश र महासचिवमा बुद्धि सुबेदीबीच समीकरणको पहल पनि भइरहेको बताइएको छ। यो समीकरणलाई कांग्रेस पार्टीको समर्थन लिने गरी पहल भैरहेको छ। तर, यसबारेमा औपचारिक निर्णय भइसकेको छैन ।डा केशव, सुवेदी लगायत महत्त्वपूर्ण पदका कयौँ आकाङ्क्षी अहिले काठमाडौँमै छन् ।

महासचिवमा वर्तमान महासचिव गौरीराज जोशीले पनि दोहो¥याउने तयारीमा छन्। यहीबिचमा एक कदम अघि बढेर महासचिवमै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सुबेदी भने औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेर जोड घटाउको समीकरणमा लागेका छन्। अमेरिकाबाट महासचिवमा दुई जना उम्मेदवार हुँदा निर्वाचन प्रक्रिया पनि विवादास्पद हुने हो कि भन्ने शङ्का पनि उठेको छ ।

२ वर्ष अघि महासचिव पदमै अमेरिकाबाट डा केशव र गौरीले उम्मेदवारी दिने घोषणा गरेपछि चुनाव विवादमा तानिएको थियो । अहिले दुवै एनआरएनएका महासचिव छन् । अव विधान अनुसार एक जना मात्र महासचिव हुने व्यवस्था छ । २ वर्ष अघि उम्मेदवारको सङ्ख्या अत्यधिक भएपछि चुनाव नगरी अप्रजातान्त्रिक बाटोबाट तीन जना अध्यक्ष, २ महासचिव लगायतका विधानमै नभएका पद सृजना गरि धेरैलाई पद दिन हचुवाका भरमा विधान नै परिवर्तन गरिएको थियो। तर यो कदम असफल भएको छ ।

यसैबीच बिहीबार काठमाडौँमा माओवादी निकट एनआरएनए अभियन्ताहरूले प्रवास समन्वय समितिका इन्चार्ज राम कार्कीलगायतका नेताहरूसँग छलफल गरेका छन् । छलफलमा एनआरएनए उपाध्यक्ष डीबी क्षत्रीसहित अभियन्ताहरू शनिकुमार वली, बुद्धिप्रसाद भण्डारीलगायतको सहभागिता थियो ।